म मरेको पल.................
म मरेको पल.................
एका विहानै
मेरो घरमा एकोहोरो शंखध्वनिले मेरो निद्रा टुट्यो । मेरै घरमा शंख बजेको, आफ्नै
घरमा शंख बजिरहेछ तर मलाइ थाहा छैन कसको मृत्य भएको । खै कोही त्यस्तो विरामी
परेको थाहा थिएन । तै पनि कसलाइ के भएछ भनेर अतालिँदै भर्याङबाट तल झरेँ, बुवा डाँको छोडेर रुँदै हुनुहुन्छ । म अवाक
भएँ । अर्को तर्फ आमा पनि त्यसरी नै रुँदै हुनुहुन्छ । म झन अचम्ममा परेँ । समीर
दाजु, ठूलोबुवाको छोरा पनि सबैलाइ फोन गर्नमा व्यस्त
हुनुहुन्थ्यो । मेरा दाजुहरुलाइ डाक्दै हुनुहुँदो रहेछ । म छक्क परेर तल तुलसीको
मठमा झरेँ, जहाँ लास राखिएको थियो । भट्टराइ माल्दाइ लास
बाँधेर बोक्नलाइ बाँस तयार गर्दै हुनुहुन्थ्यो । त्यसलाइ छिचोलेर म अघि बढेँ । म
अवाक भएँ, मसँग शब्द नै थिएन................. मेरो नै
मृत्यु भएछ । आफ्नो मृत्यु आफैं हेर्दैछु । म जिउँदै छु मेरो लास कसरी त्यहाँ ?
म मरेको होइन भनेर आमा भए ठाउँमा पुगेँ । आमाको कुममा समातेर मैले
भने ‘आमा म मरेको छैन, किन रुनु भएको ।
म त जिउँदै छु ।’ तर आमाको रोदन रोकिएन । आमाले मेरो कुरा
सुन्न सक्नु भएनछ । फेरि बुवा तर्फ लागेँ । बुवालाइ पनि त्यही भने तर एकोहोरो
रोदनमात्र थियो त्यहाँ । छिमेकीहरु भन्दै थिए ‘साह्रै असल
थियो, विचरा कलिलै उमेरमा मृत्यु भयो । बाबुको चितामा आगो
लगाउने बेलामा आफैं चितामा चढ्यो । कस्तो विडम्बना’ म सबैलाइ
स्पष्टीकरण दिँदै थिएँ कि म मरेको छैन, त्यो मेरो लास हैन ।
त्यही पनि कसैले मेरो कुरा सुनेन । सबैले लासलाइ छिटो घाट लिएर जाउँ भन्दै थिए ।
अपत्यार लाग्दो भयो मलाइ, आफ्नै मृत्यु ? कसरी हुन सक्छ । त्यसो भए म को त ? आफैंमा प्रश्न
गर्न थाले । लासलाइ नियालेर हेरेँ, आफ्नै लास............ एक
भन्नु न दुइ भन्नु भएँ । ठूल्दाजु र भाउजु पनि आइपुगे । म मरेको देखेर उनीहरु पनि
डाँको छोडेर रुन थाले । सबैजना सम्झाउँदै थिए । तर उहाँको रोदन रोकिएन । मेरो
लासलाइ अँगालो मारेर धेरै समयदेखि सम्हालेर राखेको आँसु एकैचोटिमा पोख्ने गरी
रुँदै हुनुहुन्थ्यो । कसैले मलाइ देखेन फगत मेरो लास मात्र देख्यो । मलाइ असह्य
भयो । अब के गर्ने ? तर, जे गर्ने
छिमेकीले गर्दै थिए । मेरो लासलाइ त्यो बाँसमा बाँधेर घाट लेर जाने
तयारी.......... । लास बोकियो..... अघि अघि शंखको एकोहोरो ध्वनि पछि पछि मेरो लास
अनि मलामीको मुखमा ‘राम नाम सत्य हो ।’ म पनि पछि लागेँ बुवा, आमा, दाजु,
भाउजुलाइ सम्हाल्ने कोही थिएन । छिमेकीहरु सम्हाल्ने प्रयासमा थिए,
तर पनि उनीहरुको प्रयास व्यर्थै गइरहेको थियो । सम्हाल्न पनि कसरी
सकुन युवा छोरोको मृत्यु हुँदा कसले चाहिँ आफूलाइ सम्हाल्न सक्ला र ? मलाइ घाटमा पुर्र्याइयो । सबै जना दाउरा मिलाउन थाले मेरो लासको खुट्टा
पट्टीको भाग पानीमा छुवाएर राखियो । अनि दाउरा मिलाएर चिता बनाउन थालियो । कोइराला
काका बुवाको कपाल खौरिन लागे । मेरो लागि चिता तयार भयो । म आफ्नो चिता आफैं
हेर्दैछु । सायद यो पहिलो घट्ना होला जसले आफ्नो चिता आफैं हेरेको होस् । मेरो
लासलाइ चिता माथि राखियो । मेरो लासको तनमा भएका सबै कपडा निकाल्न थालियो । कपडाले
पनि विदाइको हात हल्लाए । अब मेरो लासलाइ जलाउने पूर्ण तयारी भयो । छेउमा
पहिलेदेखि नै आगो सल्काएर राखिएको थियो । सबै मलामीले एक एक चोइटो दाउरा मेरो लास
माथि राखे, कसैले मट्टीतेल छर्किए । आगो सल्काउन पूर्ण
तम्तयार भएका थिए सबै मलामी । तत्क्षण मेरो बुवालाइ बोलाइयो, लासमा आगो लगाउन । मेरो विवाह नभएकोले बुवाले नै आगो सल्काउनु हुने भएको
थियो । अर्को तर्फबाट दाजु पनि आउनु भयो । दाजु र बुवालाइ बलिरहेको आगो हातमा
दिइयो । ‘ह्वा.............. ह्वा .............’ आमा पुनः डाँको छोडेर रुन थाल्नु भयो । ‘मेरो
छोरालाइ नजलाउ.................. नजलाउ मेरो छोरोलाइ’........... ह्वा.............. ह्वा..........’ आमाको रोदन
रोकिएन । तर, बुवा र दाजुले कुनै समय नलिइकन मेरो चितातर्फ
लाग्नु भयो । आँखाबाट बररररररर आँसु झार्दै मेरो लासको अन्तेष्टि गर्न अघि बढ्नु
भयो । मेरो चितामा आगो..............
गुड मर्निङ
प्लिज वेक अप इट्स फोर थर्टी एम, अलार्मको धुन । झल्याँस भएँ, ओहो, के देखेँ मैले यस्तो, आफ्नो मृत्यु आफैंले ।
Comments
Post a Comment